काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले बैठक स्थलमै केन्द्रीय सदस्यलाई धम्की दिएकी छन्। मंगलबार बसेको केन्द्रीय समिति बैठक समापन पछि बैठकस्थलबाट बाहिरिने क्रममा आरजूले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई धम्काएकी हुन्। सभापति देउवाले भोलिसम्मका लागि बैठक स्थगनको घोषणा गरेपछि बाहिरिने क्रममा आरजुले शिवाकोटीलाई बोलाएरै धम्की दिएकी हुन्।
बैठकस्थलबाट बाहिनेक्रममा नेताहरू एकअर्कासँग भलाकुसारी गरिरहेका थिए। यही क्रममा आरजुले भनिन्-अजयजी यता आउनुस् त।
आरजुले बोलाएपछि शिवाकोटी उनी नजिक पुगे।
त्यसपछि आरजुले सोधिन्- बाहिर के-के बोल्दै हिँड्नु भएको छ हँ?
शिवाकोटीले जवाफ दिए-के बोलेँ र!
त्यसपछि आरजु आक्रोशित बनेकी थिइन्। उनले बाहिर कसले के बोल्यो भन्ने आफूले थाहा पाउने गरेको र शिवाकोटीले बोलेको कुरा पनि थाहा पाएको बताएकी थिइन्।
आरजुले नक्कली भुटानी शरणार्थी प्रकरणमा शिवाकोटीले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै आक्रोश पोखेकी हुन्।
यो प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण थुनामा छन्। आरजु पनि यस प्रकरणमा जोडिएको आरोप छ।
शिवाकोटीले यसप्रकरणका दोषी उम्कन नहुने बताउँदै आएका थिए। शिवाकोटीका त्यही अभिव्यक्तिलाई लिएर निकै आक्रोशित बनेकी आरजुले शिवाकोटीलाई धम्कीको शैलीमा औँला उठाउँदै भनेकी थिइन्- मलाई सबै थाहा छ। म देखाइदिन्छु!
आरजु आक्रोशित बन्दै गएपछि शिवाकोटीलाई अर्का केन्द्रीय सदस्य उमेशजंग रायामाझीले आफूतिर तानेर लगेका थिए।


