काठमाडौँ- विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। यस सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आवद्ध हजारौँ सहकारीका सदस्यहरूले बिभिन्न सहकारी मार्फत नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहजै भुक्तानी पाउने जनाइएको छ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले हस्ताक्षर गरे।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘रेमिट्यान्स् बजारमा राष्ट्रिय सहकारी बैंकसँग हाम्रो आबद्धता हुनु हाम्रा लागि गौरवको विषय हो। यसबाट विभिन्न सहकारीमा आवद्ध सदस्यहरूले आफु आवद्ध सहकारी मार्फत नै रेमिट्यान्स् भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ।’
यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँले नेपाल रेमिटजस्तो लामो इतिहाँस भएको रेमिट्यान्स् कम्पनीसँग हाम्रो आबद्धता हुनु खुशीको कुरा भएको बताए। ‘अबदेखि राष्ट्रिय सहकारी बैंकका कुनै पनि शाखाबाट नेपाल रेमिट मार्फत पठाएको रकम प्राप्त गर्न सक्नुहुनेछ,’ उनले भने।


