काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले नेपाली कांग्रेसका नेताहरूले भ्रष्टाचार र अनियमितताका विषयमा नबोल्ने गरेको टिप्पणी गरेका छन्। केही व्यक्तिहरूको दुई वटा नागरिकता र पासपोर्ट पनि दुई वटा बनाउँदा पनि कुनै विषय ननिकालेको टिप्पण गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएर नाम आउँदसमेत कांग्रेस नेता नबोलेकोमा उनको आक्रोश छ। ‘भुटानी शरणार्थी प्रकरणमा अख्तियार प्रमुखको नाम जोडियो हामी बोल्न सकेनौं। कोही बोल्न सकेनन्। २ नागरिकता र पार्सपोर्ट हुने नेताका विषयमा कोही नबोल्ने?,’ उनको प्रश्न छ।
सुन तस्करीका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको पनि नाम जोडिएर आएको तर कांग्रेस चुपचाप लागेकोमा उनको आक्रोश छ। ‘१०० किलो सुनको गृहमन्त्रीको नाम आएको छ। महराको नाम आएको छ। केपी ओलीको नाम भएको छ। नारायणकाजीको नाम आएको छ। उहाँको राजीनामा माग्न जाऔँ। हाम्रा नेताको नाम आउँदा जाने, अहिले जाने कि नजाने?’ उनको भनाइ छ।
उनले नेता जो पनि बन्न सक्ने तर राजनेता हुनका लाग तपस्या चाहिने उल्लेख गरे। ‘भक्तपुरमा पार्टीमा नारायणमान विजुक्छेको पार्टी छ। उहाँलाई सबैलाई चिन्छन्। तर उहाँको पार्टीमा को-को छन् भन्ने थाहा छैन। हामीले आफू पपुलर भएर बनाउने त्यही सानो पार्टी हो? नेता जो पनि बन्छन् र राजनेता बन्नुपर्छ। राजनेता त्याग तपस्या चाहिँन्छ,’ उनले थपे, ‘समस्या क्रियट गर्ने मात्रै होइन समधान गर्ने मान्छे राजनेता हो। पार्टीलाई एकजुट बनाऔं।’
पार्टीका नेतालाई गाली गर्न मात्र कांग्रेसका नेताहरू प्रतिस्पर्धामा उत्रने गरेकोमा आश्चर्य प्रकट गरे।
