काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा स्वास्थ्य समस्या आएको र त्यसका लागि सिटामोलले मात्र नपुग्ने बताएका छन्। पार्टीका समस्या समाधान गर्न सर्जरीकै आवश्यकता भएको नेता पौडेलको भनाइ छ।
‘कांग्रेस संकटमा छ, आत्ममूल्यांकन जरुरी छ। पार्टीको स्वास्थ्यमा समस्या छ। सिटामोलबाट हल हुन्न सर्जरीको आवश्यकता छ। पलायनता, निस्कृयता र विद्रहोको अवस्था छ,’ पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले भने।
वार्षिक क्यालेन्डरमा आएका कुराले मात्रै कांग्रेस रुपान्तरण हुन नसक्ने उनको भनाइ छ। कांग्रेस मासवेस्ड पार्टी भएकाले सदस्यता वर्गीकरण नहुने उनले बताए। ‘चाहनेले सदस्यताले पाउनेहुन्छ। एउटा मात्रै सदस्यता कायम हुनुपर्छ। सजिला प्रावधान राखेर सदस्यता दिइनुपर्छ,’ उनले भने।
वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नपुग्ने उनको भनाइ छ। संविधान संशोधन गरेर भएपनि त्यसलाई सुधार गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने उनले धारणा राखे।
‘समानुपातिक प्रतिनिधित्व हुनेगरी २०१ सिटको चुनाव होस्। प्रदेशमा पनि समावेशी प्रतिनिधित्व हुने व्यवस्था गरौं। राष्ट्रिय सभा ३५ सदस्यीय होस्,’ उनको भनाइ थियो।
पार्टीमा पनि सबै सदस्यले भोट हाल्ने व्यवस्था गर्न उनको माग छ। प्राइमरी इलेक्सनको व्यवस्था गरेर टिकट वितरण गर्न आग्रह गरेका उनले भने, ‘नेतृत्व सबै सदस्यले भोट हालेर चुन्ने व्यवस्था गरौं। हामीले पार्टीको एउटा व्यक्तिलाई चार पटक भन्दा बढी संघीय सांसद्को टिकट दिनुहुँदैन’
प्रदेशमा २ पटक र समानुपातिकमा १ पटक मात्रै अवसर दिनुपर्ने उनको धारणा छ। ‘प्रधानमन्त्री/मन्त्री मुख्यमन्त्री २ पटक भन्दा बढी हुन नपाइने व्यवस्था गरौं। कार्यसम्पादन समितिको निर्णयलाई २ महिना भित्र अनुमोदन गर्नुपर्ने भनिएको छ भने २ महिना भित्र अनुमोदन नगरे स्वत अस्वीकृत हुने व्यवस्था गरौँ,’ उनले भने, ‘भ्रष्टाचारका काण्डलाई निष्पक्ष छानविन गर्न कांग्रेसले सहयोग गर्नुपर्छ। गणतन्त्रपछिका चर्चित काण्डको छानविन गर्न कांग्रेसले गर्नुपर्छ।’
०८४ को निर्वाचनमा सरकार बनाउन हामीलाई मत माग्दा मत नपाइने अवस्था रहेको उनको भनाइ थियो। अहिले सरकारमा रहँदा हामीले काम गरे त्यसलाई हेरेर जनताले मूल्यांकन गर्ने उनको भनाइ थियो।


