काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीमा अनुहार फेर्दैमा रुपान्तरण नहुने बताएका छन्। केन्द्रीय समितिको पाचौँ दिनको बैठकमा बोल्दै नेता निधिले यस्तो बताएका हुन्।
‘पार्टीमा रुपान्तरणको बहस चलिरहेको छ। अनुहार र पद फेर्ने कुराले मात्रै रुपान्तरण हुँदैन। दृष्टिकोण फेरिन जरुरी छ। नीति महाधिवेशन गरौँ। कांग्रेस भित्र मात्रै रुपान्तरण आवश्यक जस्तो गरिएको छ,’ निधिले भने।
उनले वडा र टोलमा बस्नेहरुको जीवनस्तरमा रुपान्तरण गर्ने गरी कांग्रेस केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। ‘त्यसका लागि के-के एजेन्डा ल्याउने हो? त्यसमा छलफल गरौं। त्यो भयो भने पार्टीमा रुपान्तरण हुन्छ,’ उनले भने।
नयाँ दलहरू पनि उदाएको प्रसंगलाई संकेत गर्दै निधिले जनताको भरोसा नेपाली कांग्रेसमाथि नै भएको दाबी गरे।
