काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्याच्युनले भेट गरेका छन्। तीनदिने नेपाल भ्रमणमा रहेका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्रविज्ञ डा सुरेश चालिसे जानकारी दिए।
भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए। युआन श्रीलंका भ्रमण सकेर आइतबार नै काठमाडौं आइपुगेका हुन्।
भेटमा नेपालका लागि चिनीयाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापा लगायतको सहभागिता थियो।


