काठमाडौँ- नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुईदिने महिला नेतृत्व शिखर सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। उक्त घोषणापत्र नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
विश्वव्यापी व्यापार, प्रत्यक्ष विदेशी लगानी (एफडीआई), र अन्तर–क्षेत्रीय सम्बन्ध र नेटवर्कहरूमा महिलाहरूलाई वित्तीय र डिजिटल साक्षरतामा थप पहुँच चाहिने सुझाव सम्मेलनको छ।
वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत व्यवस्था हुनुपर्ने र भएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ।
महिलाको स्वतन्त्रता वित्तीय पहुँचसँग जोडिएको र महिला उद्यमीहरूले आफ्नो ज्ञान र सीपलाई अनुकुलन गर्न सक्ने सुनिश्चित गर्न कर्जाको थ्रेसहोल्ड बढाउनुपर्ने सुझाव घोषणापत्रमार्फत सरकारलाई दिइएको छ।
समावेशी संयन्त्र, नीति निर्माण एवं प्रणालीहरूको विकास कार्यमा महिलाहरुको सहभागिता बढाउने गरी ठोस व्यवस्था गर्न सुझाव दिइएको मञ्चले जानकारी दिएको छ। राजनीतिक स्थानमा महिला सहभागिताका लागि न्यूनतम थ्रेसहोल्ड ३३ प्रतिशत रहेको भएपनि राजनीतिक क्षेत्रमा लैङ्गिक समानता हासिल गर्न महिलाको प्रतिनिधित्व कम्तीमा ५० प्रतिशत बनाउन सम्मेलनको आग्रह छ।
सम्मेलनको अन्तिम दिन जारी गरिएको घोषणापत्र नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवाली, राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीलाई दुई दिने सम्मेलनको घोषणपत्र हस्तान्तरण गरिएको हो।
नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा भएको गम्भीर बहस, विमर्श एवं छलफलबाट निकालिएका सुझावहरुलाई सरकारले आगामी दिनमा नीतिगत रुपमा सम्बोधन गर्ने विश्वास परिसंघले लिएको छ।
कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीन वटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर आयोजित सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्व समेत गरी करिब ४ सय जनाको सहभागिता रहेको थियो।
सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याएका म्यागी डोइन र सोनिका मानन्धरलाई इन्स्पायरिङ ओमन अफ द इयरबाट सम्मान गरिएको थियो। सम्मेलनमा उद्यमशीलता प्रवर्द्धन गर्न महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनीसमेत गरिएको थियो।


