काठमाडौं– २ साउनदेखि मुख्यालय सानेपामा जारी सत्तारुढ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि दिउँसो ३ बजे बस्दै छ।आजको बैठकमा पनि बाँकी केन्द्रीय सदस्यले पार्टी संगठन सुदृढीकरण, नेताहरुबीचको बेमेल, सरकारमा सहभागितापछिको अवस्थालगायतबारे आ–आफ्ना भनाइ राख्नेछन्। बैठकमा आज सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्।
२ असारदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। हिजोको बैठकमा २५ केन्द्रीय सदस्यले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको १० बुँदे संगठनात्मक कायोजना वरपर रहेर आ–आफ्ना धारणा राखेका थिए। सभापति शेरबहादुर देउवाको सभापतित्वमा बीपी स्मृति भवन सानेपामा जारी बैठकमा आइतबार सात सह–महामन्त्रीसहित केन्द्रीय सदस्यले बोलेका थिए।
आइतबार बैठकमा सहभागी केन्द्रीय सदस्य एवं कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरु अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यको प्रगति विवरण सहभागीसमक्ष राखेका थिए।
बैठकमा पार्टी अनुशासन, नेताहरुलाई एकापसमा आरोप–प्रत्यारोपमा नउत्रिन र सरकारमा गएका मन्त्रीहरुले आफूलाई भाउ नदिएकोलगायत विषयमा आवाज उठिरहेको छ। कार्यसमिति बैठक आज दिउँसो ३ बजे पुनः बस्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
जारी केन्द्रीय समिति बैठकमा सहभागी संस्थापन निकट केन्द्रीय सदस्यहरुले महामन्त्रीद्वय थापा र शर्माको आलोचना गर्दै सभापति देउवाको नेतृत्वलाई निरन्तरता दिनुपर्ने आवाज बाक्लो रुपमा उठाइरहेका छन्। केहीले पार्टीको संगठनात्मक अवधारणाप्रति कटाक्ष गरिरहेका छन्।


