काठमाडौं – सामाजिक सञ्जाल ट्विटरका सञ्चालक एलन मस्कले ट्वीटरको लोगो फेर्ने बताएका छन्। हालसम्मकै ठूलो परिवर्तन मानिएको यसलाई अमेरिकी धनाढ्य मस्कले ट्वीटरको लोगो फेरेर के राख्लान् भन्ने सबैलाई परेको छ। ट्वीटरले १६ वर्षदेखि विश्वले चिन्दै आएको चराको लोगो राखेको छ।
तर मस्कले आइतबार ट्वीटरको बहुचर्चित लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए। केही महिना अघि मात्र उनले केही समयका लागि ट्वीटरको लोगो फेरे कुकुरको राखेका थिए।
‘छिट्टै नै हामी ट्वीटरको ब्रान्डलाई बिदाइ गर्दैछौं, र विस्तारै सबै चराहरूलाई पनि,’ मस्कले आइतबार एक ट्वीट गर्दै लेखेका छन्। अहिले ट्वीटरको लोगो फेर्ने भएपछि अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रमा तहल्का मच्चिएको छ।
उनले लोगोको विषयलाई लिएर एक मात्र होइन धेरै कुराहरु सार्वजनिक गरेका छन्। लोगोको परिवर्तन किन, नयाँ लोगो कस्तो, त्यसको अर्थ के भन्ने धेरैको चासोको विषय बनेको छ।
उनले ट्वीट गरेको एक घण्टापछि मस्कले उनले ट्वीटमार्फत ‘एक्स’ अक्षरबाट आउने उपयुक्त लोगो भेटे सोमबार विश्वभर ट्वीटरको नयाँ लोगो लाइभ गर्ने बताएका थिए।
यही ट्वीटपछि मानिसहरू ट्वीटरको नयाँ लोगो कस्तो होला भन्ने उत्सुकता बोकेर बसेका छन्। एलन मस्कले ‘एक्स’ अक्षरलाई ‘एभ्रिथिङ एप’ अर्थात् सबै कुरा भएको एपका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार ट्वीटर अब केबल सामाजिक सञ्जाल मात्र नभएर इन्स्ट्यान्ट मेसेजिङ र भुक्तानी सेवा उपलब्ध गराउने एप हुनेछ।
यस्तो अवधारण चिनियाँ एप ‘वी च्याट’मा पनि रहेको छ। यसअघि मस्क आफैंले पनि ट्वीटर खरिद गर्नुको मुख्य कारण ‘एक्स’ निर्माण कार्यलाई बढावा दिने हो भनेका थिए।
आइतबार ट्वीटरको लाइभ अडियो स्ट्रिममा बोल्दै मस्कले ट्वीटरको लोगो परिवर्तन गर्न लागेको बताएका थिए। त्यसपछि सार्वजनिक रूपमा ट्वीट गर्दै उनले लोगो परिवर्तन गर्न लागेको औपचारिक घोषणा गरेका थिए।
न्यूयोर्क टाइम्सका अनुसार त्यसको केही घण्टापछि मस्कले ट्वीटरका कर्मचारीलाई ईमेल पठाउँदै ‘हामी वास्तवमा ट्वीटरलाई ‘एक्स’ मा परिवर्तन गर्दैछौं र यो काम आजै हुन्छ’ भन्दै सल्युटको ईमोजी पठाएका थिए।
मस्कको स्पेस एकस भन्ने आफ्नै सम्बन्ध छ। उनले यो कम्पनी सन् १९९९ मा खोलेका थिए। त्यतिबेला उनले अनलाइन बैंकको रुपमा एक्स डट कम स्थापना गरेका थिए। सन् २०१५ मा पुन स्थापना गरेको यो साइटबाट रिडाइरेक्ट गरेर ट्वीटरमा आउने बनाएका छन्। अर्थात् तपाईंले एक्स डटकम ब्राउज गर्नुभयो भने उक्त पेज रिडाइरेक्ट भएर ट्वीटर खुल्छ।
ट्वीटरकी सीईओ लिन्डा याकारिनोले पनि मस्कको परियोजनालाई भरपुर साथ दिइरहेकी छिन्। ‘यो विशेषगरी अडियो, भिडिओ, मेसेजिङ, पेमेन्ट्स तथा बैंकिङमा केन्द्रित छ,’ उनले ट्वीट गर्दै लेखेकी छिन, ‘यो विचार, सेवा, सामग्री र अवसरको एक मार्केटप्लेस बन्नेछ।’


