काठमाडौँ- सहरी विकास मन्त्री सीता गुरुङले कांग्रेसको गरिमा र देशको विकासलाई टेवा पुर्याउने गरी काम गरिरहेको दाबी गरेकी छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा मन्त्रालयले सम्पादन गरेका कामबारे ब्रिफिङ गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री गुरुङले यस्तो दाबी गरेकी हुन्।
‘कांग्रेसको गरिमा र देशको विकासलाई टेवा पुर्याउन गरिरहेका छौँ,’ उनले भनिन्।
सहरी विकास मन्त्रालयको आर्थिक र भौतिक प्रगति १८ प्रतिशत मात्रै रहेको अवस्थामा आएपनि गत आवमा आफू आएपछि छोटो समयमा नै ५८ प्रतिशत प्रगति गरेको उनको भनाइ छ। यद्यपि चालु आवमा बजेट घटाइएको भन्दै उनले दुखेसो व्यक्त गरेकी थिइन्।
‘चालू आवमा ६६ अर्ब १७ करोड बजेट मन्त्रालयमा छ। बजेट सिमितताका कारण धेरै माग पुरा हुन सकेन। १५ हजार योजना माग भएका थिए। विगतको भन्दा १० अर्ब भन्दा कम बजेटका कारण नयाँ कार्यक्रम १३ सय ४० कार्यक्रम मात्र समावेश गर्न सकियो,’ उनको भनाइ थियो।
नयाँ सहर, स्मार्ट सिटीलाई अघि बढाइएको छ। सहरी विकास र वस्ती विकास नीति बनाएर अघि बढाउने कोसिस गरिएको उनको भनाइ छ।
