काठमाडौँ– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछि पनि जनता सन्तुष्ट हुन नसकेको बताएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन्।
‘संविधान जारी भएपछि एक कार्यकाल पुरा भयो। तर त्यो कार्यकालको उपलब्धिबाट जनता सन्तुष्ट छैनन्। अब हामीले आजका दिनमा संविधानले मौलिक अधिकार रूपमा दिएका विषय दिने गरी प्रस्ताव पास गर्नुपर्छ,’ उनले भने।
उनले पार्टीको संगठन परिचालन गरी एकता हुने गरीकन कार्यक्रम अघि बढाउन पनि सुझाव दिए। ‘कांग्रेसको बैठकले जनतालाई के दिन खोजिरहेका छौं। जनताका दैनिक समस्या सम्बोधन गर्ने खालको एउटा प्रस्ताव आओस्। अहिले बाढीपहिरो, संविधानमा स्वस्थ्य र शिक्षा रोजगारीका विषय मौलिक अधिकार भनेका छौं।
किसानको समस्या छ। मल पाएका छैनन्। यस्ता विषय सम्बोधन गर्ने प्रस्ताव आउनुपर्छ,’ उनको भनाइ थियो।
श्रमिकको ज्यालाबारेमा नबोलेको पनि उनको गुनासो थियो। ‘बैँकको लगानी, सहकारी संस्थाको समस्या छ। त्यसमा जनताको चित्त बुझेको छैन। यसबारेमा कांग्रेसले विशेष विचार राख्नुपर्छ। हामीले अहिले कति गर्न सक्छौं,’ उनले भने, ‘किसानहरुको ऋण मिनाहा गर्न सक्नुपर्छ। पूरक बजेट ल्याएर भए पनि त्यो गर्नुपर्छ। किसान र श्रमिकको देश हो। आधार श्रमिक विदेशमा छन्। उनीहरुको जीवनको सम्बोधन गर्न केही न केही कार्यक्रम ल्याउनै पर्छ।’
संविधानको मूल संरचनालाई सदृढ गर्ने गरी कांग्रेसले गन्तव्य तय गर्नुपर्ने उनको भनाइ थियो। ‘संविधान अनुसार बन्न नसकेका कानून तर्जुमा गर्छ भनेर प्रस्ताव तय गरौं,’ उनले भने।


