काठमाडौँ- साउन २ गते सुरु भएको नेपाली कांग्रेस बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ। सोमबार नै समापन गर्ने तयारी गरिएपनि महामन्त्री र उपसभापतिले बोल्नका लागि लामो समय लिएका कारण साउन १० सम्मका लागि बैठक स्थगित गरिएको हो।
उपसभापति पूर्णबहादुर खड्काले बोलिसक्नेबित्तिकै सभापति देउवाले बैठक स्थगित गरेका थिए। उपसभापतिले बोल्दा लामो बोलेको भन्दै छोट्याउन आग्रह गरेका देउवाले खड्काले बोलिसकेँ भन्ने बित्तिकै उठ्न खोजेर भने, ‘१० गते चार बजे बस्ने। ल ल पर्सि पर्सि। त्यहाँ पनि मैले बोल्नै पर्ला। ल ठिक छ! ठिक छ!’
आजको बैठकमा केन्द्रीय सदस्य राजीवा कोइराला, मन्त्री सीता गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले धारणा राखेका थिए। यस्तै उपसभापतिद्वय धनराज गुरुङले पनि आजकै बैठकमा बोलेका थिए।


