काठमाडौं – फिफा महिला विश्वकपको उपाधिको दावेदार रहेको जर्मनीले सोमबार राति सानदार जित निकालेको छ। महिला विश्वकपको समूह चरणको आफ्नो पहिलो खेलमा उसले मोरोक्कोविरुद्ध ६–० को सानदार जित निकालेको हो।
समूह ‘जी’ को खेलमा मोरक्कोविरुद्ध सानदार जित निकाल्दै जर्मनीले पहिलो तीन अंक जोडेको छ। यो जितसँगै जर्मनले समूहमा निकै बलियो पकड बनाएको छ।
सानदार जित दिलाउनका लागि अलेक्जेन्ड्रा पोपले पहिलो हाफमै दुई गोल गरिन्। उनको गोल सहयोगमा जर्मनीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा भने मोरोक्कोका हनानी इल हज र यसमिन रबाटले आत्मघाति गोल गरेपछि जर्मनीले दुई गोल कोसेली पाएको थियो।
त्यस्तै, क्लारा बुहुल र लिय चुलरले गोल गरेपछि भने जर्मनले आफ्नो खातामा छ गोल निश्चित गरेको हो। मोरोक्कोले भने यही वर्ष मात्र विश्वकपमा डेब्यु गरेको हो।
डेब्यु गर्ने टिममध्ये उसले सबैभन्दा ठूलो हार बेहोरेको छ। अहिले समूह एचको अन्तिम स्थानमा छ। विश्वकपको समूह एचमै आज विहान सम्पन्न भएको खेलमा दक्षिण कोरियाले कोलम्बियासँग २–० को हार बेहोरेको छ। यो जितसँगै कोलम्बियाले पनि तीन अंक जोडेको छ भने दक्षिण कोरिया र मोरोक्को अंकविहिन छन्।
विश्वकपमा आज दिउँसो दोस्रो चरणको खेल सुरु हुँदैछ। आयोजक न्युजिल्यान्डले फिलिपिन्सको सामना गर्नेछ भने नर्वेले स्विट्जरल्यान्डसँग खेल्नेछ।


