विराटनगर- काेशी अस्पतालकाे एआरटी क्लिनिक र ‘एड्स हेल्थ केयर’ फाउन्डेसनबीच सेवा सम्बन्धि सहकार्यकाे सुरु भएको छ। एचआइभी संक्रमितलाइ सहयोग पुर्याउने उद्देश्यले सुरु भएको एड्स हेल्थ केयर फाउन्डेसन र काेशी अस्पताल एआरटी क्लिनिकले सेवामा सहकार्य गर्ने भएका हुन्। सहकार्यकाे शुभारम्भ स्वास्थ्य तथा जनसंख्या सचिव डा राेशन पाेखरेलले गरे। उनले दुई पक्षबीचकाे सहकार्यले एचआईभी संक्रमितमा राहत पुग्ने बताए।
पोखरेलले स्वास्थकर्मीमा नै अझै पनि एचआइभी संक्रमितको उपचार गर्दा आफुलाई रोग सर्न सक्छ भन्ने डरका कारण बिरामी रेफर भएर अन्यत्र जान बाध्य रहेकाे बताए। उनले त्यस्तो अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा डाक्टर उन्नत श्रेष्ठले ‘एड्स हेल्थ केयर’ फाउन्डेसनले अस्पतालमा भइरहेको सेवालाई विस्तार र व्यवस्थित गर्न महत्त्वपूर्ण योगदान दिने बताए।
त्यस्तै एड्स हेल्थ केयर फाउन्डेसनका कन्ट्री म्यानेजर दिब्यराज जोशीले कोशी प्रदेशमा बढी भन्दा बढी संक्रमितलाई सेवा दिनेकुरामा ध्यान केन्द्रित गर्ने बताए।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर संजय कुमार ठाकुरले संक्रमण रोक्दै नयाँलाई संक्रमण हुन नदिन ट्रिपल जिरोको अवधारणामा जानु पर्ने बताए। कोशी अस्पतालका मेसु डाक्टर चन्द्रभाल झाले अस्पतालबाट दिनुपर्ने सेवालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका थिए।
प्रकाशित: २०८० पुस १५ गते आईतबार ०३:००