काठमाडौं– संघीय प्रतिनिधिसभा बैठक आज बस्ने कार्यसूचीय संसद् सचिवालयले सार्वजनिक गरेको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ। आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।
सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा बढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद् निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदनसमक्ष पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।


