काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठकले अवैध सुन आयात प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
एमाले संसदीय दलको बैठक दिउँसो १२ बजे सुरु भएको थियो। उता दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझसम्म पनि सुरु हुन सकेको छ।
यसअघि एमालेको भ्रातृ संगठन, युवा संघ नेपालले गृहमन्त्री श्रेष्ठविरूद्ध प्रदर्शनसमेत गरेको थियो।
झन्डै सय किलो सुन तस्करी प्रकरणमा १० जना पक्राउ परेका छन्।
कम्बोडियाबाट फर्किने क्रममा सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा गृहमन्त्री संलग्न भएको हुन सक्ने आशंका गरेका थिए।
उता गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने कुनै …कोट वा …टारका नजिकका भए पनि तस्करलाई कारबाहीको दायरामा ल्याइछोड्ने बताएका छन्।
उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ। सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदहरूले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्।


