काठमाडौं–कोसी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको दाबीसहित निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट सर्वोच्च अदालतमा हालिएको रिटमाथिको अन्तिम फैसला सम्भवतः आज आउँदै छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा रिट निवेदनमाथिको बहस सकिएकाले आज फैसला आउन सक्ने बताइएको हो।
सर्वोच्चको फैसलापछि थापा नेतृत्वको कोसी प्रदेश सरकारको रहने÷नरहने टुंगो लाग्नेछ।
कोसी प्रदेश कांग्रेस संसदीय दलका नेता थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता कार्कीका तर्फबाट २२ असारमा सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको थियो।
सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन्। रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसमेत गरेका छन्।
कांग्रेस संसदीय दलका नेता थापाले २१ असारमा सभामुख गौतमको समेत हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा नियुक्त भएका थिए। २२ असारमा कोसी प्रदेश सरकार गठन प्रक्रिया अवैधानिक रहेको दाबीसहित निवर्तमान मुख्यमन्त्री कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथिको सुनुवाइ गर्दै २७ असारमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्नसमेत कोसी सरकारलाई आदेश दिएको थियो।
यस्तै, ८ साउनमा न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासद्वारा जटिल कानुनी प्रश्न समावेश भएको ठहरसहित पूर्ण इजलासबाट टुंग्याउन आदेश दिएको थियो। त्यसपछि ९ साउनका लागि पेसी तोकिएको थियो। ९ साउनको सुनुवाइ हेर्दाहेर्दैमा टुंगिएकामा १० साउनमा समय अभावका कारण आजका लागि अन्तिम फैसला हुने बताइएको छ।
९२ सदस्यीय कोसी प्रदेशसभामा एमाले सांसद संख्या ४०, कांग्रेस २९, माओवादी केन्द्रबाट १३, राष्ट्रिय प्रजातन्त्र पार्टी ६, नेकपा (एकीकृत समाजवादी) चार र जनता समाजवादीका एक सदस्य रहेका छन्। सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ। गत सोमबार सर्वोच्चको संयुक्त इजलासले जटिल कानुनी प्रश्न समावेश भएको ठहरसहित यो मुद्दालाई पूर्ण इजलासमा लैजाने आदेश दिएको हो।


