काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिमाना बुझाएका छन्। आफूले पहिले नै निर्वाचन खर्च विवरण सार्वजनिक गरेको तर त्यसको जानकारी आयोगलाई पनि दिनुपर्ने व्यवस्था आफूलाई थाहा नभएकाले जरिमाना तिरेको उल्लेख गरेका हुन्। सामाजिक सञ्जालमा लेख्दै थापाले आफूले आयोगलाई जरिमाना बुझाएको जानकारी गराएका छन्।
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २३ सय ३५ उम्मेदवारलाई जरिमाना गर्ने निर्णय गरेको थियो।
‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु,’ थापाको स्टाटसमा भनिएको छ, ‘अतः १५ हजार जरिमाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।’
प्रतिनिधि सभाका १०३७ र प्रदेश सभाका १२९८ जना उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिमाना गर्ने निर्णय आयोगले गरेको थियो। उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे पनि आयोगले जरिमाना गरेपछि केही सांसद तथा उम्मेदवारहरूले विरोधसमेत गरेका थिए।
उनले मंसिर २४ गते नै सार्वजनिक गरेको निर्वाचन खर्चको विवरणसमेत सामाजिक सञ्जालमा राखेका छन्।


