काठमाडौं– संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागिता जनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्र्कंदै छन्। प्रधानमन्त्री प्रचण्ड साताअघि इटाली गएका थिए।
सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रचण्ड आज बिहान ९ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउनमा इटाली गएका प्रधानमन्त्री प्रचण्डले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले इटाली भ्रमणकै क्रममा बंगलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्युसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत सहभागी छन्।


