काठमाडौँ- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै साउन १६ गते साँझ ५ बजेसम्मको समय दिएर उनले मुख्यमन्त्रीमा दाबी गर्न आह्वा गरेका हुन्।
यसअघि असार २१ मा मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका उद्धव थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गर्दै ७ दिनभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्। यसअघि थापाले दाबी गर्दा सभामुखसमेतको हस्ताक्षरलाई प्रदेश प्रमुखले मान्यता दिएका थिए। अब मुख्यमन्त्रीमा दाबी गर्ने दलले बहुमत पुर्याउनका लागि सभामुखको हस्ताक्षर प्रयोग गर्न पाउने छैनन्।
‘सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब देखिएको हुँदा २०८०/४/१७ भित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु’ भन्ने परमादेश जारी भएको र सोहीअनुसार सरकार गठनको आह्वान गरिएको’ प्रदेश प्रमुखको कार्यालयको भनाइ छ।
सर्वोच्च अदालतले १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आदेश गरेको थियो। यसअनुसार गठबन्धन सरकार नबने संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता हिक्मत कार्की नै मुख्यमन्त्रीका रूपमा नियुक्त हुन सक्नेछन्।



