ललितपुर– त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. महेशकुमार उपाध्यायको आत्मकथा ‘स्मृतिका रेखाहरू’ सार्वजनिक भएको छ।
लुम्बिनी इन्टरनेसनल एकेडेमी र दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा पूर्वउपकुलपति प्रा उपाध्यायको आत्मकथा सार्वजनिक गरिएको हो।
पुस्तक सार्वजनिक कार्यक्रममा कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र पूर्वउपकुलपति तथा पुस्तकका लेखक उपाध्यायलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
प्रा. डा. मोहन लोहनी र प्रा. डा. वीणा पौडेलले पुस्तकको समीक्षा गरेका थिए। कार्यक्रममा एकेडेमीका प्रिन्सिपल डा. खेटराज दाहालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
प्रमुख अतिथि पूर्वशिक्षामन्त्री पौडेलले पनि पुस्तकबारे मन्तव्य राखेका थिए। दाशु स्मृति प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दयानन्द दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
पुस्तकमा भारतमा बेलायती शासन र नेपालमा राणाकालीन व्यवस्थाको संक्षिप्त चर्चा छ। पञ्चायतकालमा प्रा उपाध्यायले अञ्चलाधीश भएर गरेका सेवा, त्रिविको सुधारका साथै थुप्रै पारिवारिक/राजनीतिक अनुभव पनि समावेश गरिएको छ। तत्कालीन राजदरबारको राजकाज, गणतन्त्र र २०७२ मा नयाँ संविधान जारी भएपछिका अनुभव पनि पुस्तकमा पढ्न पाइन्छ।


