काठमाडौँ– कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी संगठनलाई चलायमान र दरिलो बनाउन प्रशिक्षणमा जोड दिइनुपर्ने आवश्यकता औंल्याएका छन्। कांग्रेस काठमाडौं महानगर सम्मेलन उद्घाटन गर्दै नेता सिंहले पार्टी जीवनमा कार्यकर्ताले परिवर्तनको अनुभूति गर्ने गरी प्रशिक्षणलगायतका कार्यक्रम चलाइनुपर्ने बताएका हुन्।
उनले भने, प्रशिक्षण पार्टी संगठनलाई सुदृढ र अझ राम्रो गर्न हो। प्रशिक्षणले कार्यकर्तालाई पार्टीप्रति थप लगाव बढाउन सकिन्छ।’ सानेपा मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकका निर्णय अनुसार जनतासँग प्रत्यक्ष जोड्ने खाले कार्यक्रमसहितको सर्कुलर छिट्टै जारी हुन लागेको उनले बताए।
सानेपा सर्कुलरमा उल्लेख भएका नीति तथा कार्यक्रमलाई व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने उनको धारणा छ। केन्द्रीय समिति बैठकपछि कांग्रेसमा नयाँ ऊर्जा थपिएकाले सोहीअनुसार फिल्डमा खटिन उनले सबैलाई आग्रह गरे।
‘संगठन बलियो भएमात्र पार्टी बलियो हुन्छ। आगामी चुनौती सामना गर्न सकिन्छ। यसतर्फ जिम्मेवारीमा रहेका सबै नेता–कार्यकर्ताले थप मिहिनेत गर्नुपर्छ’, सिंहले भने। उनले स्थानीय सरकारका जनप्रतिनिधि र स्थानीय पार्टी कमिटीबीचको सहकार्य प्रभावकारी हुनुपर्नेमा जोड दिए। कांग्रेस क्रियाशील सदस्यताको महत्त्वलाई ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै उनले पार्टीलाई आवश्यकता पर्दा कहीँ नदेखिने तर अधिवेशनमा कसैलाई जिताउन मात्रै देखिने गर्दा समस्या भएको बताए।


