काठमाडौं– एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले संगठनको स्वरुप नलिँदै अलमलको अवस्थामा पुगेको देखिएको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एस स्थानीय, प्रदेश र संघीय निर्वाचनमा गठबन्धनका कारण केही सिटमा जित हात परे पनि पार्टी संगठन भने क्रमशः खुइँलिँदै छ। नेकपा एसका केही नेता, कार्यकर्ता माउपार्टी एमालेतिर फर्किएका छन् भने केही निस्क्रिय अवस्थामा छन्, रामकुमारी झाँक्रीजस्तै।
हुँदाहुँदा नेकपा एसले संगठनलाई चुस्त बनाउने उद्देश्यले आह्वान गरिएको पार्टी कमिटीका तीनै तहका बैठक स्थगित गरेको छ। नेकपा एसले साउन दोस्रो सातादेखि केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाए पनि अकस्मात अनिश्चितकालका लागि स्थगन गरेको छ।
यसअघि नेकपा एसको १६–१७ स्थायी कमिटी, १८–१९ पोलिटब्युरो र २०–२१ साउनका लागि केन्द्रीय कमिटी बैठक बस्ने भनिएको थियो । तर, तयारी नपुगेको भन्दै बैठक अनिश्चित कालका लागि स्थगित गरेको छ।
आवश्यक तयारी नपुगेकाले एक साता पछि बस्ने गरी तीन वटै बैठक स्थगित गरिएको नेकपा एसका प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले बताए।
साउन पहिलो साता सम्पन्न सचिवालय बैठकले तीनै तहका बैठक बस्ने मिति निर्धारण गरेको थियो। ‘आवश्यक तयारी नपुगेकाले सबै बैठक एक साता पछि बोलाइन सक्छ। सोमबार सचिवालय बैठकले औपचारिक निर्णय लिन्छ होला’, प्रचार विभाग खतिवडाले भने।
एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक स्थगित गरेको हो। पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले तयारी पूरा नभएकाले बैठक स्थगित गर्नुपरेको बताएका छन्। नेकपा एसको २९–३० असार, १, २, ४, ५ साउनमा बसेको पार्टी सचिवालय बैठकले मितिसहित स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बआह्वान गरेको थियो।
१५ साउनमा सचिवालय बैठक बसेर १६ साउनदेखिका सबै बैठक स्थगित गर्ने निर्णय हुने खतिवडाले जानकारी दिए। ६ दिनसम्म चलेको सचिवालय बैठकले पार्टीको राजनीति कार्यदिशाबारे छलफल गरेको थियो। बैठकले जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझै रहेको दाबी गरेको थियो।
सचिवालय बैठकले एमसिसी नेपालको हितमा कार्यान्वयन भए÷नभएको जानकारी लिन पार्टीबाट अनुगमन समिति बनाउने, एमसिसीमा नेपालको हितरक्षा प्रत्याभूत गर्न संसदीय अनुगमन समिति गठन गर्नुपर्नेलगायत विविध निर्णय गरेको थियो।


