काठमाडौं–अवैध एक क्विन्टल सुन बरामद प्रकरणलाई लिएर गत बुधबारदेखि संसद् अवरोध गर्दै आएको मुख्य प्रतिपक्षी एमालेले आजको १ बजे बस्ने कार्यसूची तय भएको बैठक अवरोध गरिने बताएको छ। एमालेको निरन्तरको संसद् अवरोधले प्रतिनिधिसभा बैठकमा पारितका लागि पेस गरिन लागेका विधेयक अलपत्र पर्ने आशंका बढाएको छ।
एमालेबाट संसद् बैठक अवरुद्ध हुँदै आएका बेला अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सरकारी निवास बालुवाटामा भेटवार्ता गरेका छन्। दुई नेताबीचको वार्तामा संसद् अवरोध हटाउने र मंगलबार बोलाइएको संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको बताइन्छ। प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटको मुख्य एजेन्डा प्रतिनिधिसभामा जारी अवरोध हटाउने र संवैधानिक परिषद् बैठकबारेको विषय रहेको एमाले नेता गोकर्ण विष्टले बताए।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् चल्न दिएको छैन। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद् बैठक बोलाएका छन्। हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की १९ साउनमा अवकाशमा जाँदै छन्।
अवकाश हुनुभन्दा एक महिना अगाडि नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले अहिलेसम्म प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छैन।


