काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरोध गर्ने तयारी गरेको छ। सुन तस्करीको छानबिन नभएसम्मका लागि संसद् अवरोध गर्ने एमालेले रणनीति बनाएको हो।
सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिन लगातार भएको भेटले पनि सदन खुलाउन नसकेको हो।
एमालेले सुन प्रकरणमा भरिया पक्राउ गर्ने र मालिक उम्काउने काम आरोप लगाउँदै आएको छ। सुन काण्डको छानबिनको माग गर्दै एमालेले सदनमा अवरोध खडा गर्ने रणनीति बताएको हो।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म बस्न सकेको छैन।
यता माओवादी नेता वर्षमान पुनले सुन तस्करीको छानबिन गर्न संसदीय समिति बनाउन प्रस्ताव गरेका छन्। सुन तस्करीमा जोसुकै मुछिएपनि कारबाही गर्नपर्ने उनको माग छ। सुन तस्करी प्रकणरमा पक्राउ परेका दावा लामासँगै भएको पुनको तस्बिर सार्वजनिक भएपछि यो प्रकरणमा छानबिन गर्न उनको माग आएको हो।


