काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सुन तस्करीमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि आफू तयार रहेको स्पष्ट पारेका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले उक्त कुरा बताएका हुन्।
८ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्बिरलाई लिएर अहिले आफ्नो नाम मुछ्नु आपत्तिजनक भएको उनको दाबी छ। सुन प्रकरण लगायत कुनै पनि प्रकरणमा दोषी देखिए माओवादी वा अन्य कोही व्यक्तिलाई छोड्न नहुने उनको भनाइ छ।
‘ममाथि छानबिनको लागि तयार छु। तथ्यमा पुगेर राज्यको कुनै निकायले छानबिन गरोस्। त्यसका लागि म तयार छु,’ उनले भने, ‘अरु पनि तयार हुनुपर्छ।’
पदाधिकारी बैठकमा पनि आफूले छानबिन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानबिन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए। पुनले संसदीय समिति, न्यायीक समिति वा स्वतन्त्र छानविन समिति बनाउन माओवादी केन्द्र र प्रधानमन्त्री तयार रहेको बताए।


