काठमाडौँ- काठमाडौँ महानगरपालिकाले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय खाली गर्न २१ दिनको समय दिएको छ। काठमाडौँ महानगरपालिकाका प्रहरी बल प्रमुख राजु पाण्डेले राप्रपाले २१ दिनको समय माग गरेर लिखित रुपमा पत्र दर्ता गरेपछि उक्त अवधिसम्म पर्खने जानकारी दिए।
पाण्डेका अनुसार २१ दिनमा पनि पार्टी कार्यालय नहटाएर महानगरपालिकाले २२औँ दिनमा डोजर चलाउनेछ। २१ दिनको समय दिने पत्र महानगरपालिका राप्रपालाई भने दिएको छ। त्यसबारे राप्रपालाई मंगलबार पठाइने पाण्डेले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउनका लागि काठमाडौं महानगर प्रहरी डोजर लिएर सोमबार त्यसतर्फ प्रस्थान गरेको थियो। राप्रपाको कार्यालय भवन हाइटेन्सन लाइनमुनि बनेकाले महानगरले खाली गर्न आदेश दिएको थियो। आइतबारसम्मको अल्टिमेटम दिइएकोमा राप्रपाले खाली नगरेपछि महानगरले डोजर लगाउने तयारी गरेको थियो।
महानगरले डोजर लिएर हिँडेपछि राप्रपा कार्यकर्ता केन्द्रीय कार्यालयमा पुगेका थिए। समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच छलफल भएको थियो।


