काठमाडौं– सर्वोच्च अदालतले गत ११ साउनमा कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै एक साताभित्र नयाँ सरकार गठनको आदेश दिएको समय आज बेलुकी सकिँदै छ। सर्वोच्चको आदेशपछि कोसी प्रदेश प्रमुख परशुराम खापुङले १२ साउनमा मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुख खापुङले १६ साउन बेलुकी ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए।
२१ असारमा मुख्यमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापाको नियुक्तिलाई सर्वोच्चले बदर गर्दै ७ दिनभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।
मुख्यमन्त्री बन्दा थापाले दाबी गर्दा सभामुखसमेतको हस्ताक्षरलाई प्रदेश प्रमुखले मान्यता दिएका थिए। अब मुख्यमन्त्रीमा दाबी गर्ने दलले बहुमत पु¥याउन सभामुखको हस्ताक्षर प्रयोग गर्न पाउने छैनन्। ‘सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब देखिएको हुँदा २०८०÷४÷१७ भित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नू’ भन्ने परमादेश जारी भएको र सोहीअनुसार सरकार गठनको आह्वान गरिएको’ प्रदेश प्रमुखको कार्यालयले बताएको थियो।
सर्वोच्चले १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आदेश गरेको थियो। यसअनुसार गठबन्धन सरकार नबने संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता हिक्मत कार्की नै पुनः मुख्यमन्त्रीका रूपमा नियुक्त हुन सक्नेछन्।
सत्ता गठबन्धनका मुख्य दल कांग्रेस, नेकपा माओवादी केन्द्रले भने गठबन्धनबाटै मुख्यमन्त्री नियुक्त गर्न सहमत भएका छन्। ९२ सदस्यीय कोसी प्रदेशसभामा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपा गरी ४६ सांसद छन् भने एमाले, राप्रसा गठबन्धनका पनि ४६ सांसद छन्।
यस्तो अवस्थामा प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सरकार गठनका लागि बहुमत (४७) जुटाउने रणनीति बालुवाटारमा शनिबार बसेको कांग्रेस, नेकपा माओवादी केन्द्रको बैठकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको बुझिएको छ। यद्यपि हालसम्म कोसीका सभामुखको राजीनामा आइसकेको छैन।


