काठमाडौं– त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अवैध एक क्विन्टल सुन प्रकरणलाई लिएर मुख्य प्रतिपक्षी एमाले अवरोधका कारण स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज पनि बस्ने कार्यसूची संसद् सचिवालयले तय गरेको छ।
सुन बरामद प्रकरणको विषयलाई लिएर एमालेले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अन्यथा संसद् बैठक अवरोध गरिने जनाउ दिएपछि हिजोको बैठक बस्दै नबसी आजका लागि तय गरिएको हो। प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। तर, एमालेले आज पनि आफ्ना माग पूरा नभए बैठक अवरुद्ध गरिने जनाएको छ।
बैठक अवरुद्ध नभए सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्र पढेर सुनाउनेछन्।
यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा डामिएका एमाले सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी आजकै बैठकमा सभामुख घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा भनिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको कार्यावधि थप गर्ने प्रस्ताव सदनमा पेस गर्ने सम्भावित कार्यसूची छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
दिउँसो १ बजे बस्ने कार्यसूची रहेको संसद् बैठकलाई आज पनि एमालेले अवरोध गर्ने संकेत दिएको छ। अवैध सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठन माग गरिए पनि सरकारले त्यसमा चासो नदेखाएकाले आजको बैठक पनि चल्न नदिइने एमाले नेता गोकर्ण विष्टले बताए। उनले भने, ‘अवैध सुन तस्करीबारे सरकारले अहिलेसम्म उच्चस्तरीय छानबिन आयोग गठनमा चासो दिएन। आजको संसद् बैठक पनि चल्न दिँदैनौं। संसदीय छानबिन समिति गठनको घोषणा गरे मात्र संसद् चल्छ, नभए चल्दैन।’
गत बुधबार बसेको बैठकमा पनि एमाले सांसदले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै अवरोध गरेका थिए। बुधबारको अवरोधपछि सोमबार बोलाइए पनि लगातारको एमाले अवरोधका कारण आजका लागि संसद् बैठक बस्ने कार्यसूची छ।


