काठमाडौँ– स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले अर्थ मन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि पाउन नसकेको गुनासो गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालस्थित विश्व बैंकका प्रतिनिधिसँगको भेटपछि सञ्चारकर्मीसँग स्वास्थ्यमन्त्री बस्नेतले यस्तो कुरा बताएका हुन्।
‘स्वास्थ्य मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङ घटाएको थियो। हामीले प्रयास गरेपछि अर्थ मन्त्रालयले १० अर्ब ११ लाख पैसा दुई पटक गरी थपेको छ। त्यति हुँदाहुँदै पनि २० प्रतिशत बजेट कटौती भएको छ,’ उनले भने, ‘त्यसमा सूर्तिजन्य पदार्थमा उठेको ६ अर्बमा पनि स्वास्थ्य मन्त्रालयले ४० करोड मात्र पाएको छ। त्यसैले सूर्तिजन्यबाट उठेको पैसा र कोभिडको बेला खर्च गर्नेका लागि आएको पैसा अर्थ मन्त्रालयमै छ।’
मन्त्री बस्नेतले विश्व बैंकलगायतका संस्थाबाट स्वास्थ्य क्षेत्रमा आएको सहयोग स्वास्थ्य मन्त्रालयले नै चलाउन पाउनुपर्ने बताए।
उनले दरबन्दीको अभावमा पनि स्वास्थ्य क्षेत्रमा धेरै काम हुन नसकेको प्रष्ट पारे। उनले भने ‘कर्मचारीको दरवन्दी अभाव भएर दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पर्याप्त मात्रामा पुर्याउन नसकेको अवस्था छ। यो पैसा आयो भने हामीले सरुवा रोग र नसर्ने रोगहरु दरबन्दी सृजना गर्ने छौँ र यो पैसा फेरि स्वास्थ्य मन्त्रालयलाई दिन अनुरोधको प्रक्रिया अगाडि बढाउने छौँ।’


