विराटनगर– कोशी प्रदेशमा सत्ता सहयात्राका लागि तयार परेर बसेका दलहरु सभामुखको राजीनामाको प्रतीक्षामा बसेका छन्। मंगलबार गठबन्धन सरकार बनाउनका लागि प्रदेश प्रमुखले दिएको अन्तिम समयसीमामा उनीहरू सभामुखको राजीनामा पर्खेर बसेका हुन्।
कोशी प्रदेश संसद सचिवालयका प्रवक्ता गौतमराज अमात्यले सभामुखको राजीनामा प्राप्त भइनसकेको बताए। ‘सभामुखसँग भर्खरै सम्पर्क भएको थियो। उहाँ आउँदै हुनुहुन्छ भनेर हामी पनि पर्खिरहेका छौँ,’ उनले भने, ‘सभामुखलाई लिनका लागि विमानस्थलमा गाडी पनि पठाइसकेका छौँ। उहाँ सचिवालयमा आइपुग्नु भएको छैन।’
इमेलबाट सभामुखले पत्र पठाउन सक्ने भएकाले इमेल पनि चेक गरिरहेपनि कुनै पनि पत्र प्राप्त नभएको उनले जानकारी दिए। सभामुख बाबुराम गौतम काठमाडौंबाट विराटनगर फर्किन लागेका हुन्। गौतम दिउँसो ३ बजे फर्कने जानकारी दिइएको छ।
सभामुखको राजीनामाको पर्खाइमा कांग्रेस,माओवादी, नेकपा एस र जसपाका सांसदहरू छन्। उनीहरू सभामुखको राजीनामा आइपुग्नेबित्तिकै सभामुखलाई पनि हस्ताक्षर गराएर प्रदेश प्रमुखकोमा मुख्यमन्त्रीका लागि दाबी गर्न पुग्नेछन्।
नेपाली कांग्रेसका सांसद विनोद वान्तवाले सभामुखलाई हस्ताक्षर गराएर जानका लागि आफूहरू प्रतीक्षामा रहेको बताए। ‘सभामुखको राजीनामा पर्खेर हामी बसेका छौँ। दाबी पेस गर्नका लागि तयार गरिने पत्र तयार भइसकेको छ। हामीले हस्ताक्षर संकलन गरिरहेका छौँ,’ वान्तवाले भने।
उनका अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले नै मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन्। दाबीपत्र लिएर प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा साढे ४ बजे जाने तयारी भएको उनले बताए।
माओवादीको कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धनको तर्फबाट थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति भएको जानकारी दिए।
असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४६ प्रदेशसभा सदस्य र सभामुख गौतमको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए। तर सर्वोच्च अदालतले सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने फैसला गरेपछि थापा पदमुक्त भए। अहिले उनै सभामुखलाई राजीनामा गराएर थापाले पुनः मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।
९३ सदस्यीय प्रदेशसभामा कांग्रेस नेता थापालाई उनको पार्टीका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन रहनेछ। विपक्षी खेमामा एमालेका ४० र राप्रपाका ६ जना सांसद रहने भएका छन्।


