काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। प्रदेशसभाक सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरी बहुमत पुर्याएको दाबी गरेर मुख्यमन्त्रीमा नियुक्ति लिन सफल भएका उनी दोस्रो पटक पनि मुख्यमन्त्री बन्न सफल भएका हुन्।
दोस्रो पटकमा उनै सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेको पत्र दिएका हुन्।
बुधबार नयुक्ति लिनुअघि थापाले संविधानको १६८ को उपधारा (२) अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन जुटाएर दाबी गरेका थिए।
थापालाई कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद गरी ४७ सांसदले समर्थन गरेका छन्। ९३ सांसद रहेको सभामा बहुमत पुग्नका लागि ४७ जना सांसद चाहिन्छ।
गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आजै पदबाट राजीनामा दिएका थिए।
यसअघि असार २१ गते पनि थापाले मुख्यमन्त्रीका रूपमा नियुक्ति लिएका थिए। तर सर्वोच्च अदालतले २२ दिनपछि उनको उक्त नियुक्तिलाई अवैधानिक ठहर गरेपछि सभामुखलाई राजीनामा गराएपछि मात्र उनका लागि बहुमत पुगेको हो।


