काठमाडौँ– परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। रुस र युक्रेनबीचको युद्धमा दुवै देशका सेनामा नेपाली नागरिक सहभागी भएको समाचार सार्वजनिक भएको थियो। यसै विषयमा सरकारले सजग गराएको हो।
‘कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान हुन सबैमा अनुरोध गरिन्छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन सूचित गरिन्छ।’
यद्यपि भारत, बेलायत र सिंगापुरमा परम्परागत रूपमा सम्झौताअन्तर्गत नै नेपालीहरू सेनामा काम गर्न जाने विषयलाई भने परराष्ट्रले रोक लगाएको छैन।
‘विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागतरूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ, ‘केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमाबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ।’


