काठमाडौं– कांग्रेसको गत २–१० सम्म सानेपामा सम्पन्न केन्द्रीय समिति बैठक लाइभ गरिएपछि त्यसलाई पछ्याएर आजदेखि सुरु हुने केन्द्रीय समिति बैठक लाइभ गरिने बताएको सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले निर्णयलाई खारेज गरिदिएको छ।
आज बिहान पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यसअघि पदाधिकारी बैठकले गरेको केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय खारेज गरेको नेता गिरिराजमणि पोखरेलले बताए। ‘पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरे पनि त्योभन्दा ठूलो स्थायी समिति बैठकबाट गर्नुहुँदैन भन्ने निर्णय पारित भएको छ। अब केन्द्रीय समिति बैठक लाइभ हुँदैन,’ उनले भने।
माओवादीको पाँचदिने केन्द्रीय समिति बैठक दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुँदै छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका काम–कारबाही, संगठनात्मकलगायत विषयका एजेन्डा पेस गर्नेछन्। माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति बैठकमा केन्द्रीय समिति सदस्यसहित सहभागी हुनेको संख्या करिब ७५८ पुगेका छन्।
बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभाग र प्रदेश पदाधिकारी सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए। केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, तीन वटा आयोगबाट ७५ र प्रत्येक प्रदेशबाट १ सय सहभागी हुनेछन्।


