काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचार हटाउने, शुसासन कायम गर्ने र दण्डहीनताको अन्त्य गर्ने हो भने नेपालको भविष्य उज्वल रहेको बताएका छन्।
नेपाल प्रेस युनियन काठमाडौँ शाखा प्रमाणपत्र वितरण तथा पदस्थापन कार्यक्रममा नेता कोइरालाले भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको भन्दै देशमा कुनै घटना भएपनि माथिल्लो तहको मानिसको सहभागिताले हराएर जाने प्रवृत्ति बढेको पनि बताए।
‘भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ, अहिले जुन सुन काण्ड आएको छ त्यो पनि सामान्य भएर जान्छ किनभने त्यसमा माथिल्लो तहको मानिसको सहभागिता हुन्छ। यो केश चल्दा चल्दै अर्को काण्ड आउँछ हामीले कुनै पनि केशलाई निष्कर्षसम्म पुर्याएको छैन। किनभने ठूलो तहको सहभागिता हुन्छ,’ उनले भने, ‘नेपालको भविष्य नभएको होइन। भ्रष्टाचार हटाउने, शुसासन कायम, दण्डहीनताको अन्त्य गर्न सक्यौँ भने नेपालको भविष्य उज्वल छ।’
नेता कोइरालाले देश अप्ठ्यारो र अराजकतातिर गईरहेको भन्दै जिल्ला र सर्वोच्च अदालतले फैसला गरेका व्यक्ति पनि राजनीतिक लेप लगाएर छुट्ने गरेको बताए।
देश अप्ठ्यारो र अराजकतातिर गइरहेको बताएका उनले भ्रष्टाचारले गाँजेको बताए। राजनीतिक लेप लगाइदिने भएकाले अपराध पनि क्षम्य भइरहेको उनको भनाइ थियो। जिल्ला अदालत, सर्वोच्च अदालतले फैसला गरेका व्यक्तिहरु पनि छुटेका हुन्छन्। यस्तो कुरालाई सही दिशामा लान सकेनौ भने देश अराजकता तिर जान्छ र गइरहेको पनि छ।
यस्तै, कोईरालाले कुनै घटना भयो, अगाडि बढ्यो भने तीनजना शीर्ष नेताहरुको बैठक र छलफल सुरु हुने भन्दै पत्रकारहरुले यस्तो कुराहरुलाई ध्यानमा राखेर उजागर गर्न सक्ने हो भने देश अगाडि बढ्ने बताए।


