ओटावा- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीबीच सम्बन्धविच्छेद भएको। १८ वर्ष वैवाहिक जीवनमा आवद्ध भएका उनीहरूबीच छुट्टिने सम्झौतामा हस्ताक्षर भएको बीबीसीले लेखेको छ।
सन् २००५ मा यो जोडीले मोन्ट्रियलमा विवाह गरेका थिए। उनीहरूबाट तीन जना सन्तान जन्मिएका छन्। उनीहरूको उमेर १५, १४ र ९ वर्ष छ।
क्यानडेली प्रधानमन्त्रीको कार्यालयले उनीहरू दुवै जना आपसमा छुट्टिएको पुष्टि गरेपनि अझै केही समय सार्वजनिक रूपमा सँगै देखापर्ने बताएको छ। ‘उनीहरूले छुट्टिने निर्णयको सम्बन्धमा सबै कानुनी र नैतिक कदमहरू लिइएका छन् भनेर सुनिश्चित गर्न काम गरेका छन्, र यसलाई अगाडि बढाउन जारी राख्नेछन्,’ ट्रुडोको कार्यालयले भनेको छ, ‘उनीहरू अर्को हप्ता परिवारको रूपमा छुट्टीमा हुनेछन्।’
‘हामी एकअर्काप्रति गहिरो माया र सम्मानको साथ नजिकको परिवार बनेका छौं। हामीले जे निर्माण गरेका छौँ त्यसलाई निरन्तरता दिनेछौँ,’ ५१ वर्षीयु ट्रुडो, ४८ वर्षीया सोफीले भनेका छन्।
हालैका वर्षहरूमा उनीहरू सार्वजनिक रूपमा कमै मात्र देखिएका थिए। यद्यपि उनीहरूले मेमा राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सँगै थिए। । मार्चमा क्यानाडामा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दुवैले सँगै स्वागत गरेका थिए।
सन् २०१५ मा पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएका ट्रुडोको यो जोडी भोगमा कभर भएका थिए। ‘म ३१ वर्षकी भएँ। र मैले ३१ वर्षदेखि तिम्रो प्रतीक्षामा गरिरहेकी थिएँ,’ पहिलो डेटमा डिनर सकिएपछि सोफीले ट्रुडोलाई भनेको कुरा उक्त पत्रिकाका लागि सोफीले बताएकी थिइन्।
सन् २०२२ को मे महिनामा विवाहको वार्षिकोत्सवको अवसर पारेर सोफीले भनेकी थिइन्, ‘हामीले घमाइलो दिनहरू, भारी आँधीबेहरी र बीचका सबै कुराहरूमार्फत यात्रा गरेका छौं।’
सन् २०१४ मा प्रकाशित ट्रुडोको पुस्तकमा वैवाहिक जीवनमा चुनौतीहरू पनि बोलेका छन्। ‘हाम्रो वैवाहिक जीवन पूर्ण छैन, र हामीले कठिन उतार-चढावहरू भोगेका छौं, तैपनि सोफी मेरो सबैभन्दा मिल्ने साथी, मेरो साथी, मेरो माया हो। एक अर्कासँग इमानदार, दुख्दा पनि,’ उनले लेखेका थिए।
यी दुईले २००३ मा डेटिङ सुरु गरेका थिए। सोफी टिभीमा काम गरिरहेकी थिइन्। उनी मानसिक स्वास्थ्य र खाद्य प्रणाली/विकारका क्षेत्रमा परोपकारी कामका लागि पनि चिनिने गरेकी छन्।
प्रधानमन्त्री पदमा रहँदारहँदै सम्बन्ध विच्छेदको घोषणा गर्नेमा ट्रुडो दोस्रो क्यानाडेली प्रधानमन्त्री हुन्। उनका बुबा स्वर्गीय पियरे इलियट ट्रुडो र आमा मार्गरेट ट्रुडो थिए। यो दम्पतीले पनि ६ वर्ष सँगै बसेपछि सन् १९७७ मा सम्बन्धविच्छेद गर्ने घोषणा गरेका थिए।


