काठमाडौँ- संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा परिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकको एजेन्डा छ। तर मुख्य प्रतिपक्ष अरु संवैधानिक आयोगमा पनि पदाधिकारी सिफारिस गर्नुपर्ने र त्यसको प्याकेजमा सहमति गर्दा आफूहरूलाई पनि भाग छुट्याउनुपर्ने भन्दै आएको छ।
१६ साउनमा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन भएको थियो।
प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको पनि २० साउनदेखि पदावधि सकिँदै छ। तर, हालसम्म नयाँ प्रधानन्यायाधीश सिफारिस गरिएको छैन। आजको बैठकमा सहमति जुटे सर्वोच्चमा रहेका १४ न्यायाधीशमध्ये वरिष्ठताका आधारमा विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस हुन सक्नेछन्।
उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि २० साउनमा सकिने भएको हो। संविधानअनुसार प्रन्याको अवधि सकिनुभन्दा एक महिनाअघि नै प्रधानन्यायाधीश सिफारिस भइसकेको हुनुपर्ने थियो।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्मा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहन्छन्। परिषद्मा प्रधानन्यायाधीश पनि सदस्य रहन्छन्। प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा कानुनमन्त्री सदस्य रहने व्यवस्था छ।


