काठमाडौँ- काठमाडौंस्थित किंङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स् एन्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च (नामी)ले आर्टिफिसियल इन्टिलीजेन्ससम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउनेसम्बन्धी सम्झौता गरेका छन्। किंङ्स कलेज र नामीबीच बिहीबार साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतामा ६ महिने परीक्षणात्मक तालिम कक्षा संचालन गर्ने उल्लेख छ। आपसी सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टिलीजेन्ससम्बन्धी विशिष्ठ तथा एकीकृत पाठ्यक्रमको विकास गरी स्नातक तथा स्नातकोत्तर तहको शिक्षण कार्यक्रम संचालनसमेत समेत उल्लख गरिएको छ।
सूरुवाती चरणमा सूचना प्रविधि तथा इञ्जिनियरिङ्ग विधामा काम गरिरहेकाहरुलाई लक्षित गरेता पनि पछि विधार्थी तथा आर्टिफिसियल इन्टिलीजेन्स् क्षेत्रमा रुची राख्ने जोकसैले पनि यस शिक्षण कार्यक्रममा सहभागी हुन पाउने कलेजले जानकारी दिएको छ। तथापि यस कार्यक्रममा सहभागी हुन चाहनेहरुले पाइथन प्रोग्रामिङ्ग चलाउन जानेको हुनुपर्ने छ।
‘शिक्षाले मानिसलाई बर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितीको सामना गर्न सक्षम गराउनुका साथसाथै समयसान्दर्भिक सिप विकासमा सघाउनुपर्दछ भन्ने हाम्रो सोच रहेको छ,’ कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल बताउँछन्, ‘पछिल्लो समय विश्वमै मुलधार प्रबृत्तीको रुपमा विकास भैरहेको आर्टिफिसियल इन्टिलीजेन्स्को क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उदेश्यको साथ नामीसँग साझेदारी गरिएको हो।’
आधुनिक समाजमा देखापरिरहेको चुनौतीको सम्बोधन गर्न, नयाँ अवसरहरुबाट लाभ लिन र आधुनिक चालचलन अंगीकार गरी समाज तथा राष्ट्रको विकासमा टेवा पुर्याउन परियोजनाहरु संचालन गरिरहेको अर्यालले जनाकारी दिए ।
विश्वव्यापी क्षेत्रमा आर्टिफिसियल इन्टिलीजेन्स्को तीव्र विकास भैरहेको परिप्रेक्षमा नेपालमा पनि यस क्षेत्रप्रति आममानिसको चासो र रुची बढिरहेको यथार्थलाई ध्यानमा राखी यस विषयबारे प्राज्ञिक शिक्षा प्रदान गरी आवश्यक जनशक्ति तयार गर्ने उदेश्यका साथ शैक्षिक कार्यक्रम संचालन गर्न लागिएको नामीका सहसंस्थापक तथा निर्देशक डा. विशेष खनालले जानकारी दिए।
