काठमाडौं– संसदीय समिति सभापतिविहीन हुँदा बैठकको सञ्चालनलाई लिएर सांसदहरुबीच नै आरोप प्रत्यारोप चल्न थालेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई लिएर समितिका सभापतित्व गरिरहेका जेष्ठ सदस्य चित्रबहादुर केसी र समितिका सदस्य कृष्णगोपाल श्रेष्ठबीच विवाद भएको छ।
शुक्रबार बसेको समितिको बैठकमा सदस्य श्रेष्ठले बैठक प्रभावकारी बन्न नसक्नु र बैठक ढिला हुनुमा कामचलाउ सभापति केसीको हात रहेको आरोप लगाए। सभापति केसी निर्वाचन क्षेत्र गएको बेलामा बैठक नै बस्न नहुने हो? भन्दै श्रेष्ठले प्रश्न गरेका थिए।
‘यो समितिको सभापति निर्वाचित सभापति नभएकोले हामी मध्येबाट सभापति हुनु भएको छ। बैठक बस्ने ढिला हुनुमा काम चलाउ सभापति कारक हुनुहुन्छ । यसमा उहाँको कति समस्या कति कमी कमजोरी दोष भन्ने कुरा सुरुमै उहाँले आत्माआलोचना गर्नु भयो। त्यो आफ्नो ठाउँमा छ। तर दिलेन्द्र बडु र म त यहाँ पुरानो निरन्तर छँदै छौं । हामी हाम्रै योग्ताको कुरा पनि गर्दै छौं,’ उनले भने, ‘सभापतिज्यु काम विषेशले निर्वाचन क्षेत्रमा पुगेको स्थितिमा राज्य व्यवस्था समिति नचल्ने हो? उहाँको अनुपस्थितीमा अरु भएको मध्ये जेष्ठ सदसयबाट बैठक चल्न सक्छ नी!’
श्रेष्ठको आरोपपछि केसीले आफ्नो अनुपस्थितिमा बैठक नचल्ने कुरा नै नहुने बताए । आफु जेठो भएकोले सभापति भएको भन्दै बैठक नबस्नुको दोष आफ्नो मात्र नभएको बताए ।
‘सभापति थिएन मैले चलाएँ। मेरो अनुपस्थितिमा दिलेन्द्र बडुले चलाउनु भयो। म पनि व्यस्त मान्छे अनि मेरो अनुपस्थितिमा बैठक नै नचल्ने भन्ने हुन्छ? यो चाहीँ हामी सबैले महसुस गर्नु पर्छ। आज हामी जुन विन्दुमा हामी छौं त्यो फेरि नहोस्। सभापतिको चुनाव हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने।
उनले बैठक चलाउन सांसदहरुले पहल गर्नुपर्ने तर्क गरे। ‘हामी सबैको बराबर जिम्मेवारी हो। म यहाँ उमेरले जेठो भएकोले सभापति भएको हो। मेरो आफ्नो समस्या त छँदै छ। मैले बैठक बोलाईन भनेर मेरो ढाडमा हाल्न त भए नि,’ उनले भने, ‘सरकारलाई भन्या छु त किन बैठक नबसेको भनेर बैठक त निरन्तर बस्नुपर्छ म केहि गरी अनुपस्थित भए भने पनि खुर्सानी बिना भान्सा अर्काल्नु भने झै सांसदहरुले पनि पहल गरेर यो बैठक चलाउँनु पर्छ ।’


