काठमाडौँ- नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तेस्रो पटक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भाद्र महिनाको पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो।
लुम्बिनी प्रदेशस्थित १२ जिल्ला सभापति, २६ प्रतिनिधि सभा क्षेत्रीय सभापति र ५२ प्रदेश सभा क्षेत्रीय सभापतिको लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले बताए। नवलपरासी (पश्चिम)मा आयोजना गरिने प्रशिक्षणलाई बरिस्ठ नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरू सम्बोधन गर्नेछन्।
समय अनुकूल पार्टी संगठन चलायमान बनाउन तहगत नेतृत्वको लागि प्रशिक्षण दिन लागिएको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले बताए। प्रशिक्षण पश्चात् पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विषेश आधार तय हुने सभापति पुनको भनाइ छ।
प्रशिक्षण विभागले अबदेखि विभिन्न बैठक सञ्चालन गर्ने र आगामी बैठक पाल्पा जिल्लामा आयोजना गरिने विभागले जनाएको छ।


