काठमाडौं– आइतबारदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाल्ने भएका छन्। यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की ६५ वर्षे उमेहदका कारण साउन २० गते शनिबारदेखि अनिवार्य अवकाशमा गएकाले वरिष्ठतम न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको रुपमा स्वत: न्यायपालिकाको नेतृत्व पाएका हुन्।
श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस भएपनि उनको नियुक्तिको प्रक्रिया पूरा भएको छैन। यसअघिका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ८ महिना कामु प्रधानन्यायाधीश बनेका थिए। उनी असार १ मा प्रधानन्यायाधीश नियुक्त भएर साउन २० मा अवकाशमा गएका हुन्।
संवैधानिक परिषद्को बिहीबारको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश बनाउनकाल लागि सिफारिस गरेको छ। संसदीय सुनुवाइ समितिले सुनुवाई पूरा गरी नियुक्तिका लागि अनुमोदन गरे श्रेष्ठलाई राष्ट्रपतिले नियुक्त गरी शपथ गराउनेछन्।
प्रधानन्यायाधीश भएमा श्रेष्ठ आगामी २०८१ असोजसम्म प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनेछन्।


