बागलुङ- बागलुङ बजारमा रहेको बीएसआर मुभिजमा विद्यार्थीको लागि निःशुल्क नेपाली चलचित्र हेर्न पाउने व्यवस्था गरिएको छ। साउनको १५ गतेदेखि बाग्लुङ बजारका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुका निःशुल्क नेपाली चलचित्र प्रदर्शन गरिएको बिएसआर मुभिजका व्यवस्थापक श्रीजेश गजुरेलले जानकारी दिए।
हाल बीएसआरमा प्रदर्शन भइरहेको सामाजिक कथावस्तुमा आधरित नेपाली चलचित्र बगान प्रतिदिन ४ सय जना विद्यार्थीको दरले निःशुल्क प्रदर्शन गराइएको छ। चलचित्रप्रतिको आर्कषण बढाउन बीएसआरले विद्यार्थीका लागि निःशुल्क हेर्न पाउने व्यवस्था गरेको हो। यो अवसर साउन २६ गते सम्म चल्नेछ। मुभिजका व्यवस्थापक गजुरेलका अनुसार अहिले कक्षा ५ देखि १२ सम्मका विद्यार्थीका लागि निशुल्क चलचित्र देखाइएको हो।
चलचित्र क्षेत्र, सिनेमा घरप्रतिको समुदायमा रहेको धारणा परिवर्तनको लागि समेत आफूहरुले अभियान थालेको उनले बताए। ‘हाम्रो समाजमा फिलिम हेर्ने भन्दा अझै पनि नकारात्मक दृष्टिकोणले हेर्ने चलन छ, यसलाई चिर्नका निम्ती सवै विद्यार्थीहरुलाई एकै ठाउँमा राखी शिक्षकहरुको प्रत्यक्ष निगरानीमा चलचित्र हेराउँछौँ,’ गजुरेलले भने, ‘सामाजिक चलचित्रहरु हेर्दा विद्यार्थीलाई पनि नयाँ कुराको जानकारी हुन्छ यसले नकारात्मक भन्दा पनि सकारात्मक पक्षलाई नै राम्रो बनाउँछन्।’ अधिकांश सिनेमा मनोरञ्जनसँग सँगै सन्देश बोक्ने हुँदा विद्यार्थीमार्फत समाज परिवर्तनमा भूमिका निर्वाह गर्ने उनले बताए।
अहिलेसम्म बागलुङ बजार क्षेत्रका १३ वटा विद्यालयका २ हजार भन्दा बढी विद्यार्थीले बिएसआर मुभिजमा निःशुल्क चलचित्र हेरीसकेका छन्। अघिपछि १५० देखि ३०० रुपैयाँ तिरेर हेर्नुपर्ने चलचित्र अहिले निःशुल्क हेर्न पाईने अफर भएपश्चात सिनेमा घरमा विद्यार्थीहरुको बाक्लो उपस्थिति हुने गरेको गजुरेलले बताए।


