काठमाडौँ- विवादित पृष्ठभूमिका डा ल्यारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमामा नियुक्त भएका छन्। ठगी र चोरी मुद्दामा पटकपटक पक्राउ परेका उनलाई मन्त्रिपरिषद् बैठकले कोषको उपाध्यक्ष पदमा ५ वर्षका लागि नियुक्त गरेको हो।
यसअघि कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय) थिए। उनको कार्यकाल १० साउनमा पूरा भएसँगै सरकारको कोषमा नयाँ उपाध्यक्ष नियुक्त गरेको हो।
एमालेबाट राजनीति सुरु गरेका उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री बनेका थिए। दोस्रो संविधानसभाको चुनावमा उनी माओवादीतिर लागेर समानुपातिक सांसदको पद लिएका थिए।
हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका लामा दोहोरो नागरिकता र राहदानी विवादमा समेत तानिएका पात्र हुन्। यति मात्र होइन, अवैध हातहतियार राखेर समेत विवादमा आएका थिए।
२०७३ वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा १० करोड बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा पनि दायर गरेको थियो। तर उनी १ करोड धरौटीमा रिहा हुन सफल भएका थिए।
२०५८ साल पुस १९ गते गुम्बा विकास समितिको अध्यक्षमा नियुक्त भएका लामाको बैंकको लकरमा १४ राउण्ड गोली भेटिएपछि २०७२ फागुन ३० गते पक्राउ परेका थिए। पटकपटक प्रहरीको हिरासतमा बसेका उनी पटकपटक धरौटीमा रिहा हुँदै आएका थिए। वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर युवासँग रकम असुली धन्दा चलाएको पनि उनीमाथि आरोप लागेको थियो।


