काठमाडौं– गत १९ साउनको संवैधानिक परिषद् बैठकबाट सर्वोच्च अदालतको मुख्य नेतृत्व लिन सिफारिसमा परेका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइका लागि पठाइएको छ। संवैधानिक परिषद्ले सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठको सुनुवाइ प्रक्रियाका लागि संसदीय सुनुवाइ समितिमा नाम पठाएको हो।
परिषद्को पत्राचारअनुसार समितिले प्रारम्भिक बैठक मंगलबार बोलाएर सिफारिस गरिएका प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्नेछ। प्रस्तावित प्रधानन्यायाधीशको नाम सुनुवाइका लागि प्राप्त भएको प्रतिनिधिसभा प्रवक्ता एकराम गिरीले पुष्टि गरे।
संसदीय सुनुवाइबाट अनुमोदन भएर सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्त भए श्रेष्ठको कार्यकाल २० असोज २०८१ सम्म हुनेछ। श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेपछि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ भने आवश्यक ठाने उपसमितिसमेत गठन गरेर छलफल गर्न सक्ने कानुनी व्यवस्था छ।
उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई सुनुवाइका लागि निम्ताउनेछ। सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र समितिले निर्णय गरिसक्नुपर्नेछ। सुनुवाइ समितिबाट सर्वसम्मत सिफारिए भए श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् भने उनैले प्रधानन्यायाधीशका रुपमा सपथ खुवाउनेछन्।
