काठमाडौँ– संसदीय समितिको भागबण्डा मिलेको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमत पार्टीले संसदीय समितिको नेतृत्व लिने गरी भागबन्डा मिलेको हो।
मिलेको भागबन्डाअनुसार कांग्रेसले ४ समितिको नेतृत्व पाउने भएको छ। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई ३ समितिको नेतृत्व दिइनेछ। माओवादी केन्द्रले २ समितिको नेतृत्व लिँदा नेकपा एस, जनता समाजवादी पार्टी र जनमत पार्टीलाई एकएक समितिको नेतृत्व दिइनेछ। नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिको भागबण्डा मिलेको जानकारी गराएका हुन्।
प्रमुख प्रतिपक्षी दल एमालेले तीन समितिको नेतृत्व पाएपनि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले भने कुनै पनि समितिको नेतृत्व लिन नपाउने भएका छन्।
संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका छन्। मध्याह्न १२ बजे सभामुखको कार्यकक्षमा हुने प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा समितिको सभापतिको निर्वाचनको टुंगो लाग्ने छ।
कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाई विशेष समिति, राज्य व्यवस्था समिति र कृषि समितिको नेतृत्व गर्नेछ।
एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेतृत्व पाउने भएको छ।
नेकपा माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानून, न्याय तथा मानव अधिकार समितिको नेतृत्व गर्ने छ। जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको नेतृत्व गर्नेछ। नेकपा (एकीकृत समाजवादी)लाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र जनमत पार्टीलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व दिइनेछ।


