काठमाडौँ- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा गरिएको मनोनयनप्रति नेता कृष्णप्रसाद सिटौला समूहले असन्तुष्टि जनाएको छ। सभापति शेरबहादुर देउवाले ७१० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपनि आफूहरूको समूहका विद्यार्थीहरूलाई छुटाइएको भन्दै सिटौला समूहले आपत्ति जनाएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघमा ७१० जनालाई मनोनयन गरेको सोमबार सार्वजनिक भएको थियो। दुजाङ शेर्पालाई सभापतिमा मनोनयन गरेको डेढ वर्षपछि नेविसंघमा ७१० जनालाई देउवाले सोमबार केन्द्रीय समिति सदस्य बनाएका थिए।
सिटौला समूहलाई प्रतिनिधित्व गर्ने नेविसंघ केन्द्रीय सदस्य मनिष सिंखडाले नेविसंघमा योगदान गरेका आफूहरू निकटका साथीहरूलाई छुटाइएको आरोप लगाए।
‘विश्वविद्यालयमा गहन रुपमा काम गरेका, आन्दोलनको नेतृत्व गरेकाहरुलाई छुटाएर बनाइएको समितिको औचित्य छैन,’ उनले भने, ‘देशभरका संघर्षशील साथीहरूलाई छुटाएर नेताको खल्तीबाट मनोनित गरिएको छ। यति जम्बो कमिटी बनाउँदा पनि संगठनका लागि योगदान दिएकाहरुलाई छुटाउनु राम्रो होइन।’ आफूहरूको पक्षका नेताहरूलाई समावेश नगरे विद्रोह गर्ने सिंखडाको चेतावनी छ।
उता देउवाले केन्द्रीय सदस्य बनाएका केही विद्यार्थी अगुवाहरू भने विदेश गइसकेको समेत खुलेको छ। किरण भण्डारी, डा. रितेश चिमोरिया, अमृत वस्ती र रविन ढुङ्गानालगायतका नेता विदेशमा छन्। आफूलाई केन्द्रीय सदस्य बनाएकोमा ढुङ्गानाले असमर्थता प्रकट गरेका छन्।


