काठमाडौँ– नेकपा (एमाले)ले एक क्विन्टल सुन तस्करी प्रकरणमा सीआईबीले गृहमन्त्रीको बयान लिनुपर्ने बताएको छ। सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन पर्ने माग गर्दै आएको एमालेले यस्तो बताएको हो।
उच्चस्तरीय समिति बनाउन सभामुखबाट रुलिङ नभएसम्म एमालेको विरोध जारी रहने उनको भनाइ छ। एमालेको धारणा राख्दै एमालेका नेता योगेश भट्टराईले यस्तो बताएका हुन्।
‘के सिआइबीले गृहमन्त्रीको बयान लिन्छ? के राजश्व अनुसन्धानले लिन्छ? अर्थमन्त्रीमाथि हाम्रो प्रश्न छ। प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ। राष्ट्रिय अनुसन्धान विभागमाथि हाम्रो प्रश्न छ,’ उनले भने, ‘यत्रा निकाय त्रिभुवन विमानस्थलमा हुदा ती कहाँ सुतेका थिए। यिनीहरूमाथि प्रश्न कसले उठाउँछ?’ सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने माग गर्दै एमालेले साउन १० गतेयता निरन्तर संसद अवरोध गरिरहेको थियो।
सार्वजनिक लेखासमितिको बैठकले पनि समिति गठन गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको उनको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सोही विषयमा राखेको सार्वजनिक महत्वको प्रस्तावमा आफ्नो पार्टीको समर्थन गरेको स्पष्ट पारे।
यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा बाहिरिएको र पक्राउ परेको करिब एक सय किलो सुन तस्करीका सम्बन्धमा उच्चस्तरीय छानबिनको माग गर्दै एमाले सदनको अवरोध जारी राखेपछि प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो। उक्त बैठकमा शीर्ष नेता सदन सञ्चालनमा सकारात्मक भएपछि आजको प्रतिनिधिसभाको बैठक बसेको हो। सो विषयमा अन्य दलका सांसद्ले पनि बोल्ने क्रम जारी छ।


