काठमाडौँ- प्रतिनिधि सभा सञ्चालनमा नेकपा एमालेले फेरि अवरोध गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न राजी भएको एमाले उनको जवाफ सुन्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए। यसपछि एमालेका सांसद महेश बर्तौलालाई बोल्नका लागि समय दिए।
‘मलाई अलि पहिल्यै देखि यो सदनमा जवाफ दिन मन थियो। तर मलाई त्यो अवसर प्राप्त गर्न खोज्नु भयो। कु्टिल ढंगले प्रतिपक्षीमाथि दोषारोप गर्न खोज्नु भयो,’ एमाले सांसद महेश बर्तौलाले भने, ‘गृहमन्त्रीलाई जवाफ दिन दिऔँ भनेर हामीले भनेका थियौँ। तर सत्तापक्ष प्रमुख सचेतकहरूले द्वन्द्वमा नजाऔँ भन्नुभयो। हामीले मान्यौँ। अनि दोष एमालेलाई लगाउन गर्न मिल्छ? यस्तो कुटिल तर्क र ढाँटको खेती गर्न मिल्छ?’
उच्चस्तरीय छानबिन समितिको मागबारे सकारको धारणा नआएको पनि जिकिर गरे। यद्यपि गृहमन्त्रीले गोलमटोल जवाफ दिएको उनको आरोप थियो। ‘सरकारले तस्करहरूलाई संरक्षण गर्न खोजेको छ। प्रमुख प्रतिपक्षको हिसाबले बोलाउँदा हामी जान्छौँ। हामी संसदीय मान्यताभन्दा बाहिर जाँदैन भन्न चाहन्छ। प्रतिपक्षहरूबिचमा खेल्ने काम सत्ता पक्षले काम गर्यो। उच्चस्तरीय छानबिन समिति जरुरी छ। हाम्रो विरोध जारी छ,’ उनले भनेका थिए।
यसपछि फेरि एमालेका सांसदहरू उठेका थिए। यसपछि सत्तापक्षका सांसद पनि उठेर कार्यसूचीमा प्रवेश गर्न माग गरेका थिए। यसबेला दुवै पक्षीय सांसदको नाराबाजी नै चलेको थियो। तर सत्तापक्षका सांसद बसेपनि एमाले सांसद नबसेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरिदिए।


