काठमाडौं- नेपाल राष्ट्र बैंकले अल्पकालीन आन्तरिक उठाउनका लागि ट्रेजरी बिल जारी गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले २८ दिनमा परिपक्व हुने, ९१ दिनमा परिपक्व हुने, १८२ दिनमा परिपक्व हुने र ३६४ दिनमा परिपक्व हुने गरी ट्रजरी बिलबाट २२ अर्ब १० करोड २५ लाख रुपैयाँ उठाउन लागेको हो।
२०८० वैशाख १२ गते परिपक्व हुने गरी २८ दिने ट्रजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, असार १२ गते परिपक्व हुनेगरी ९१ दिने ट्रजरी बिल मार्फत ११ अर्ब ५० करोड २५ लाख रुपैयाँ, असोज ९ गते परिपक्व हुने गरी १८२ दिने ट्रजरी बिलअन्तर्ग ६० करोड रुपैयाँ उठाउन लागिएको हो।
२०८० चैत १३ गते परिपक्व हुनेगरी ३६४ दिने ट्रजरी बिल मार्फत ५ अर्ब गरी कुल २२ अर्ब १० करोड रुपैयाँ बराबरको अल्पकालीन आन्तरिक ऋण राष्ट्र बैंकले उठाउन लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
ट्रेजरी बिल खरिद गर्न चाहने बैंक तथा वित्तीय संस्थाले चैत १३ गते ३ बजेसम्ममा बोलकबोल प्रक्रियाका लागि आवेदन दिन सक्नेछन्। राष्ट्र बैंकको अनलाइन प्रणालीमा मार्फत बोलकबोल प्रक्रियामा सहभागी हुनु पर्नेछ। बोलकबोलमार्फत प्राप्त निवेदनका आधारमा राष्ट्र बैंकले चैत १४ गते ट्रेजरी बिल जारी गर्नेछ।
चैत ६ गते भएको बलोकबोलका आधारमा २८ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ८.६८ प्रतिशत, ९१ दिने ट्रेजरी बिलको ९.४२ प्रतिशत, १८२ दिने ट्रेजरी बिलको ९.४१ र ३६४ दिने ट्रेजरी बिलको ९.६ प्रतिशत कायम भएको छ। राष्ट्र बैंकले सो समयमा २३ अर्ब ७८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो।
