काठमाडौँ– गौर हत्याकाण्डका पीडित र सरकारबीच भएको ५ बुँदे सहमतिलाई लिएर जनता समाजवादी पार्टी हच्किएको छ। मंगलबार दिउँसो सरकार र पीडितबीच भएको ५ बुँदे सहमतिका विषयमा जसपाले असन्तुष्टि व्यक्त गरेको हो।
सरकार र पीडितबीचको सहमतिपछि जसपा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दौडधुपलाई तिव्र बनाएका छन्। ५ बुँदै सहमति लगत्तै यादवले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर यादवले पेल्न खोजिएको गुनासो गरेका थिए।
२०६३ चैत ७ गते भएको हत्याकाण्डको पुनः छानबिन गर्ने सहमति सरकार र पीडितपक्षबीच भएको छ। यो घटनासँग तत्कालीन मधेसी जनअधिकार फोरम हालको जसपा जोडिएको छ। जसका कारण अध्यक्ष यादव समस्यामा पर्न सक्छन्। सरकार र पिडित पक्षबीच भएको सहमति पछि यादवले सरकार छाड्ने संकेत गठबन्धनमा गरिसकेका छन्।
जसपाले सरकार छाड्ने संकेत गरेपछि बुधबार बिहान कांग्रेस र माओवादीबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेससभापति देउवा लगायतका नेताहरुले यसबारेमा छलफल गरेको बुझिएको छ।
गौर हत्याकाण्डमा भारतीय गुण्डा ल्याएर फोरमले गौरको राइसमिल क्षेत्रमा माओवादीको सभामा आक्रमण गरेको आरोप लाग्दै आएकोछ । यो विषयमा छानबिन गर्ने सहमति गरेर अप्ठ्यारोमा पार्न खोजिएको बुझाइ यादवको छ।
के थियो घटना?
२०६३ सालमा जारी भएको अन्तरिम संविधानको विरोध गर्दै उपेन्द्र यादवले मधेसमा आन्दोलन गरेका थिए। ०६३ साल चैत २८ गतेका लागि संविधानसभा निर्वाचनको मिति तोकिएको थियो। त्यसअगावै २०६३ माघ १ गते अन्तरिम संविधान माइतीघरमा च्यातेर यादवले आन्दोलन घोषणा गरेका थिए।
आन्दोलनकै क्रममा गौर हत्या काण्ड घटेको थियो। त्यो काण्डमा यादव संलग्न रहेको आरोप लागिरहेको छ। रौतहटमा अझै पनि यादवलाई कारबाही गर्नुपर्ने माग राख्दै आन्दोलन हुने गरेको छ।
जसपाले सरकार छाड्ने संकेत गरेपछि बुधबार बिहान कांग्रेस र माओवादीले गौर घटनाका पीडितसँग भएको सहमतिबारे छलफल गरेका छन्।
घटना घटेको भोलिपल्टै तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरासहितको टोली गौर पुगेको थियो। पुनरावेदन अदालतका न्यायधीशको नेतृत्वमा छानबिन समितिले गौर हत्याकाण्ड राजनीतिक प्रतिशोधसहितको नियोजित घटना भनेको थियो। घटनामा संलग्न को-को संलग्न थिए भनेर अझै खुलेको छैन।
जसपा स्रोतका अनुसार अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार सिंहदरबारमा भेटेका थिए। देउवासँगको भेटमा यादवले आफूलाई अप्ठ्यारोमा पार्न खोजिएको बताएका थिए।
अहिले जसपाको कार्यकारिणी समितिको बैठक पार्टी मुख्यालय बालकुमारीमा जारी छ। ७ चैत २०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो। गौरको राइसमिल क्षेत्रमा भएको झडपमा २३ जना माओवादी कार्यकर्ता मारिएका थिए।
